चैत, ३० – सौल, कोरिया
नेपाली भाषासाहित्य, कला र संस्कृतिको उत्थानमा निरन्तर लागि परिरहेको सक्रिय संस्था अनेसास कोरिया च्याप्टरले नयाँवर्ष २०७८ को शुभ अवसर पारेर शुभकामना आदानप्रदान सहितको बृहत् रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा यस अघि आयोजना गरिएको कोरियाव्यापी खुला कविता प्रतियोगिता २०७७ मा विजयी भएका कविहरूलाई पुरस्कार वितरण समेत गरिएको छ ।
अनेसास कोरियाका अध्यक्ष प्रमोद सारंगको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका वरिष्ठ उपाध्यक्ष डि. आर. न्यौपाने सूर्यले गरेका थिए भने कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै स्वागत मन्तव्य कार्यक्रम संयोजक आर. एन. ले दिएका थिए । नेपाली भाषासाहित्यमा लामो समयदेखि योगदान गर्दै आउनुभएका वरिष्ठ साहित्यकार शैलेन्द्र साकारलगायत अन्य अतिथिहरू रमेश श्रेष्ठ,गोवर्द्धन पूजा र महेश पौड्यालको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली साहित्यमा सर्वाधिक लेखिने विधा कविता, गजल र मुक्तकको क्षेत्रमा कलम चलाइरहनु भएका वर्तमान समयका चर्चित साहित्यकारहरू रोशन परियार, मनोज विश्वकर्मा, लक्ष्मण गगन,कपिल अञ्जान, दिलु थापा मगर, प्राञ्जल, रामचन्द्र शर्मा र ऋद्धिमा रिजालले आफ्ना साहित्यिक रचना वाचन गरेका थिए ।

कोरिया च्याप्टरले स्थापनाकालदेखि नै अनवरत भाषासाहित्यको विकास र विस्तारमा योगदान दिंदै आएको अतिथी स्रष्टाहरूले स्मरण गर्दै सबैमा नयाँ वर्षको शुभकामना दिए।अतिथि स्रष्टाहरू र वाचकहरूलाई च्याप्टरले सम्मान -पत्र वितरण गरेको छ। त्यसैगरी गतवर्ष आयोजित कोरियाव्यापी कविता प्रतियोगिता २०७७ मा प्रथम, द्वितीय र तृतीय हुनुभएका कविहरू क्रमशः युवराज फुँयाल, निर्दोष शिव र माधव लम्साललाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ।
विगत लामो समयदेखि अनेसास कोरियाले कविता, गजल,मुक्तक जस्ता सबै विधामा सन्तुलन राखेर विभिन्न साहित्यिक कार्यक्रमहरू गरेको स्मरण गर्दै यस कार्यक्रममा पनि हरेक विधामा कलम चलाउने अधिक स्रष्टालाई उपस्थित गराएर नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय कार्य गर्दै आएको छ ।