कोरोनाका कारण मानवीय क्षति बढ्दै, साउनमा मात्र ३२ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीबाट पुनः ठूलो मानवीय क्षति हुन थालेको छ । कोरोनाबाट साउनमा मात्र ३२ जनाको ज्यान गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । शुक्रबार ४ हजार ७१२ कुल परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको ज्यान गएको छ । पछिल्लो पटक वैशाख २१ गते कोरोना संक्रमणबाट बिरामीको ज्यान गएको थियो । त्यसको ७३ दिनपछि साउन १ मा कोरोना संक्रमणबाट १ जना संक्रमितको मृत्यु भएको थियो। साउन २६ मा सबैभन्दा धेरै ५ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु भएका व्यक्तिहरु र्दीर्घरोगी, ज्येष्ठ नागरिक र खोप नलगाएका व्यक्ति रहेको जनाएको छ । मृत्यु हुने ६ जनाले मात्र खोप लगाएको पाइएको छ । हाल कोभिड संक्रमितको अस्पताल भर्ना, स्वास्थ्य जटिलता र मृत्युको तथ्यांक हेर्दा खोप नलगाएको पाइएको छ। खोप लगाएको व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिलाई कोभिडको संक्रमण भएमा सिकिस्त बिरामी हुने वा मृत्यु हुने सम्भावना १० गुणा बढी रहने मन्त्रालयको भनाई छ ।

अहिले कुल जनसंख्याको २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये ७५.१ प्रतिशतले एक मात्रा र ७०.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । लक्षित जनसंख्या १२ वर्ष माथिका २ करोड ३३ लाख २७ हजार ६१९ मध्ये ९३.९ प्रतिशतले एक मात्रा र ८८.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । बुस्टर मात्राको खोप भने ७४ लाख ११ हजार ८८९ जनाले लगाएका छन् । नेपालले हालसम्म कुल ६ करोड १७ लाख ७६ हजार ७७० मात्रा खोप भित्रिएको छ । खोप अभियान सुरु भएदेखि ४ करोड ९९ लाख ७५ हजार ९२९ खोप मात्रा प्रयोग भएको छ ।