काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को खोप नेपालमा समेत छिटो उपलब्ध गराउन र सबै नागरिकको पहुँचमा पुर्याउन गृहकार्य भइरहेको जानकारी दिएका छन् ।
विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्तब्य सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध देशका लागि स्वस्थ नागरिक’को अवधारणा साकार पार्न निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा पहुँचको व्यवस्था सुनिश्चित गर्न ‘एक स्थानीय तह, एक स्वास्थ्य संस्था’, ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमालगायत कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरेका छन् ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणले मानवअधिकारको उपभोगमा चुनौति थपिदिएको उनको भनाई छ ।
सङ्घीय, प्रदेश र स्थानीय सरकारले आफ्नो स्रोत, साधन र क्षमताको अधिकतम उपयोग गरी यसको रोकथाम, नियन्त्रण र उपचारमा दत्तचित्त रही कार्य गरिरहेको समेत प्रधानमन्त्रीको दावि छ ।
एउटा पनि परीक्षण गर्न नसक्ने अवस्थाबाट नेपाल एकैदिन हजारौँको सङ्ख्यामा परीक्षण गर्न सक्ने अवस्थामा पुगेको भन्दै स्वास्थ्य पूर्वाधारमा ऐतिहासिक बढोत्तरी गरिएको दावि गरेका छन् ।