कोरोनाको डेल्टा र ओमिक्रोनको चेपुवामा विश्व स्वास्थ प्रणाली

जुरिच । डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको भन्दै  विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ ।

युरोप र अमेरिकामा कीर्तिमानी सङ्ख्यामा कोभिडका नयाँ सङ्क्रमितहरू देखा परिरहँदा सङ्गठनका अध्यक्ष डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

बिबिसीका अनुसार अध्ययनहरूले कैयौँ देशमा निकै छिटो मुख्य भेरिअन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै सङ्क्रामक रहेको बताएका छन्।

फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनका हकमा अब लहर मात्र भनेर नपुग्ने बरु ‘आँधीजस्तो लहर’ भन्नुपर्ने बताएका छन्।

डब्ल्यूएचओका प्रमुखले दुईवटा भेरिअन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिएका छन्।

डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने, “थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ। र स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था नजिक पुगेका छन्।”
रोयटर्सका अनुसार विश्वभरि यतिखेर दैनिक झन्डै नौ लाख सङ्क्रमित थप भइरहेका छन्। अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सीएनएनसँग बोल्दै सङ्क्रमणले जनवरीको  अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दु लिने सम्भावना रहेको बताएका छन्।

कैयौँ देशले कोभिडको तेस्रो मात्रा खोप दिनेगरी बूस्टर अभियान सुरु गरेका छन्। जसमा यूकेबेलायत  समेत छ । यहाँ १२ वर्ष माथिका ५७ प्रतिशत मानिसले तेस्रो मात्रा खोप लिइसकेका छन्।
डब्ल्यूएचओ प्रमुखले भने ठूलो स्तरका बूस्टर अभियानले गरिब देशमा हुनुपर्ने आपूर्ति मोडिरहेको र त्यसले ‘महामारी लम्ब्याउने देखिएको’ बताए ।