कोरोनाबाट एकै दिन ३५ सयको मृत्यु, इटलीमा मर्नेको संख्या १० हजार नाघ्यो

काठमाडौं । कोरोनाको कहर संसारभर जारी छ । यसले यूरोप र अमेरिकालाई यतिबेला सबैभन्दा नराम्रोसँग प्रभावित पारेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार साँझसम्म विश्वभर यस भाइरसका कारण करीव ३१ हजार मानिसको ज्यान गइसकेको छ ।

शनिबार मात्र कोरोना (कोभिड १९)ले संसारभर एकै दिन ३५ सय भन्दा बढी मानिसको ज्यान लियो ।

संगठनका अनुसार २४ घण्टा भित्र ३५ सय ७ जना मानिसले यो सुन्दर धर्ति छाड्न बाध्य भएका छन् । शनिबार पनि इटाली स्पेनमा धेरै मानिसले ज्यान गुमाए ।

इटलीमा एकै दिन ८ सय ८९ र स्पेनमा एकै दिन ८ सय ४४ जनाको ज्यान गयो । इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ३ पुगेको छ ।

स्पेनमा ५ हजार ९ सय ४७ जनाको ज्यान गएको छ । अमेरिकामा शनिबार ५ सय १५ जनाको ज्यान गयो ।

अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित छन् । यस देशमा १ लाख २३ हजार ४ सय २८ जनामा संक्रमण भएको छ ।

संसारभर शनिबारसम्म ३० हजार ८ सय ५१ जनाले ज्यान गुमाएका छन् । ६ लाख ६२ हजार ९ सय ६७ जनालाई कोरोना संक्रमण भएको छ ।

१ लाख ४१ हजार ९ सय ५३ जना उपचारपछि घर फर्किएका छन् । नेपालमा शनिबारसम्म ५ जनामो कोरोनाको संक्रमण देखिएको छ ।

त्यसमध्ये एक जना उपचार पछि घर फर्किएका छन् । ४ जनाको उपचार जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।