कोरोनाबाट एक दिनमै १४ जनाको मृत्यु, २६१८ मा देखियो संक्रमण

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा मृत्यु हुने पछिल्लो केही महिनायता कै बढी हो । नेपालमा मृतकको संख्या ३१३६ पुगेको छ । यस अवधिमा थप २६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्टबाट २४८६ जना र सीमा नाकामा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ । योसँगै कुल संक्रमितको संख्या नेपालमा २ लाख ९७ हजार ८७ पुगेको छ । अहिले १६ हजार ८२८ संक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार सबभन्दा धेरै काठमाडौंका ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेमा ३५२, रुपन्देहीमा २६८, दाङमा १७२ र ललितपुरमा १४१ जनामा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको मन्त्रालयले जनाएको छ ।