कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप एक नेपालीको ज्यान गएको छ । यस साता थप १ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघले जनाएको छ । यो साता संयुक्त अधिराज्य बेलायतमा १ जनाको मृत्यु भएको हो । यससहित २१ देशमा कोरोना सङ्क्रमणले ज्यान गुमाउने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो हप्ता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, यूएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । बेलायत, क्यालिफोर्निया, एसिया र दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखा परेको छ ।