कोरोनाबारे भ्रम सिर्जना गरियो : गृह मन्त्रालय

काठमाडौं । विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरसबारे नेपालमा भ्रम छरिएको भन्दै सरकारले त्यसका पछाडी नलाग्ने नागरिकलाई आग्रह गरेको छ । तर, गृहले सचेत भने रहने आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिम भएको मुलुकका रुपमा राखेको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्ती जारी गर्दै कोरोनाभाइरसबारे उत्पन्न हल्ला र प्रचारबाजीमा भने विश्वास नगर्न नागरिकलाई आग्रह गरेको हो ।

कोरोनाबारे भ्रमपूर्ण समाचार आइरहेको गृहको भनाई छ । हालसम्म नेपालमा कोभिड १९ संक्रमण भएका व्यक्तिहरू पत्ता नलागेको र यसको प्रसार समुदायमा भएको अवस्था समेत नरहेको गृहले जनाएको छ ।

यस सम्बन्धमा उत्पन्न गरिएका विभिन्न प्रकारका हल्ला र प्रचारबाजीका पछाडि नलाग्न मन्त्रालयले अनुरोध गरेको छ ।

कोरोनाबारे अनावश्यक भ्रम फैलाएर उपभोग्य वस्तु कालो बजारी नगर्न समेत गृहले सचेत बनाएको छ ।

कहीँकतै त्यस्तो भेटिए सम्बन्धित निकायमा खबर गर्न समेत गृहले अनुरोध गरेको छ । बढी भीडभाड हुने स्थानमा नजान र स्वास्थ्यको आफै सचेतना अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।