न्युयोर्क
मस्कोस्थित गमालिया ईन्स्टिच्युटले अधिकारिक रुपमा कोरोनाभाइरस बिरुद्धको भ्याक्सिन निर्माण गरेको दाबी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार रसियन स्टेट टिभी मार्फत गरेका छन् । आफ्ना मन्त्रीमण्डलका सदश्य सहित उक्त टेलिभिजनको प्रत्यक्ष टेलि-कन्फरेन्समा पुटिनले भ्याक्सिनले सम्पूर्ण प्रकृया पुरा गरेको बताएका छन् । पुटिनले भनेका छन्; “विश्वमा नै पहिलो कोरोनाभाइरस बिरुद्धको भ्याक्सिनको रुपमा आज बिहान दर्ता भएको छ । मलाई थाहा छ यसले एकदम राम्रोसँग काम गर्ने छ र यो भ्याक्सिनले स्थिर प्रतिरोधात्मक क्षमताको बिकास गर्ने छ”।
पुटिनले आज मात्र पहिलो भ्याक्सिनको रुपमा दर्ता गरिएको उक्त भ्याक्सिनको परिक्षणका क्रममा आफ्नो एक छोरीले पनि भाग लिएको र पहिलो पटक भ्याक्सिनको सुई लगाउदा केही हलुका ज्वरो बढे पनि क्रमैसँग घटेको बताएका छन् । यसअघि नै संचार संस्था सिएनएनले रसियन अधिकारीहरुको हवाला दिदै लेखेको थियो; ‘ राज्यले भ्याक्सिनको रुपमा दर्ता गरेपछि उक्त भ्याक्सिन महत्वपूर्ण तेश्रो चरणको परिक्षणमा जानेछ’। रसियन राष्ट्रपति पुटिनले विश्वमा नै पहिलो कोरोनाको भ्याक्सिन भनेर दाबी गरेको उक्त भ्याक्सिनको परिक्षण सम्वन्धि कुनै पनि बैज्ञानिक आँकडा भने प्रकाशित नगरेको सिएनएनले लेखेको छ । यो भ्याक्सिनको सुरक्षा र प्रभावकारिता समेत जाँच गर्न असमर्थ भएको मुलधारका संचार माध्यमहरुले लेखेका छन् ।