काठमाडौं । वर्तमान फुटबलका सबैभन्दा महान खेलाडी हुन् लियोनल मेसी र क्रिष्ट्रियानो रोनाल्डो । यी दुई खेलाडीले स्पेनमा लामो समय एक अर्काविरुद्ध खेले । तर, दई वर्ष अगाडी रोनाल्डो इटली गएपछि भने दुई महान खेलाडीको भेट भएको थिएन । तर, बुधबार राती भने दुई खेलाडीबीच युरोपियन च्याम्पियन्स लिगमा भेट्ने अवसर थियो ।
तर, कोरोना भाइरसले दुई खेलाडीबीचको भिडन्त भने हेर्न पाइएन । रोनाल्डो अहिले कोरोनाको सामना गरिरहेका छन् । उनी होम आइसोलेसनमा बसेका छन् । उता, खेलमा भन स्पेनिस महारथी बार्सिलोनाले इटालियन च्याम्पियन युभेन्ट्समाथि जित निकालेको छ । जसमा कप्तान मेसीले एक गोल गर्न सफल भएका छन ।
बार्सिलोनाले युभेन्ट्सलाई उसकै होम ग्राउण्डमा हराएको हो । समूह जी अन्तर्गत बार्सिलोनाले युभेन्ट्सलाई २-० गोलले पराजित गरेको छ । खेलको १४ मिनेटमा बार्सिलोनाले उस्मान डेम्बेलेको गोलबाट अग्रता लियो । उनलाई लिओनल मेसीले पास दिएका थिए ।
खेल सकिन पाँच मिनेट बाँकी रहेको अवस्थामा युभेन्ट्स १० खेलाडीमा सीमित भयो । डिफेन्डर मेरिह डेमिरल दोस्रो पहेँलो कार्ड पाउँदै बाहिरिए । दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो।
अन्सु फातीमाथि भएको फउलमा मेसीले पेनाल्टीमार्फत बार्सिलोनाका लागि दोस्रो गोल गरे । लगातार दोस्रो जित निकालेको बार्सिलोना समूहको पहिलो स्थानमा छ ।