न्युयोर्क
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण हाल अमेरिका कोरोनाको केन्द्र बनेको छ भने ७ लाख ७५ हजार संक्रमित र ४१ हजारको मृत्यु भै सकेको छ । संक्रमित र मृत्यु हुनेको संख्या उच्च बिन्दुमा पुगेको अवस्थामा एरिजोना कोलोर्याडो, मन्टाना तथा वाशिङ्गटन राज्यहरुमा आईतबार लक डाउन बिरुद्ध प्रदर्शन गरिएका थिए । त्यो भन्दा अगाडि अन्य आधा दर्जन राज्यहरूमा पनि लक डाउनका बिरुद्ध प्रदर्शन गरिएका थिए ।
हतार गरेर अर्थतन्त्र खोल्दा कोभिड-१९ को घातक पुनरोदय हुनसक्ने त्रासका बीच अमेरिकामा त्यस्ता प्रदर्शन चर्किएका हुन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यस्ता प्रदर्शनप्रति आफ्नो समर्थन दर्शाएका छन् ।
बढी प्रभाबित राज्यहरुमा सङ्क्रमण उच्च विन्दुमा पुगेको तथा केही क्षेत्रमा नयाँ सङ्क्रमणको वृद्धि दर घटिरहेको सङ्केत पनि आएका छन् ।
अमेरिकामा प्रारम्भिक चरणमै सङ्क्रमण फैलिएको वाशिङ्गटन राज्यमा सयौँ मानिस राजधानी ओलम्पियामा भेला भएर गभर्नरलाई अर्थतन्त्रमा लागेका बन्देज खुकुलो पार्न माग गरे ।
प्रहरीले भेलामा २५ सय जति सामेल भएको अनुमान गरेको छ। लकडाउन लागू भएपछिको त्यो सबभन्दा ठूलो त्यस्तो जमघट भएको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रदर्शनका क्रममा कैयन प्रदर्शनकारीले सामाजिक दुरी सम्बन्धि नियम अनि मास्क लगाउनु पर्ने नियम समेत उल्लंघन गरेका थिए ।
लकडाउन बिरुद्ध प्रदर्शन गर्ने समुह सामुन्ने स्वास्थ्यकर्मी उपस्थित भएका थिए । एसोसिएटेड प्रेसका अनुसार मन्टानाको हेलेनामा आयोजित र्यालीमा केही सय मानिस थिए ।
कोलोराडोको डेन्भरमा पनि उत्रै र्याली भएको थियो ।
प्रदर्शनकारीका गाडी सडकमा खचाखच भएपछि अस्पतालमा रहँदाकै पोशाक र मास्क लगाएका स्वास्थ्यकर्मीहरू उनीहरूको सामु उपस्थित भएका थिए ।
यस अगाडि अमेरिकामा कोरोनाभाइरस उत्कर्षमा पुगिसकेको राष्ट्रपति ट्रम्पले दाबी गर्दै प्रतिबन्ध चाँडै फुक्का गर्ने योजना रहेको बताउदै ट्विट् गरेका थिए ।
एरिजोनामा पनि प्रदर्शनकारीले सयवटा जति गाडीलाई राजधानी फिनिक्सको एक चोकमा घुमाएर प्रदर्शन गरेका थिए ।
कतिपय राज्यहरूमा गभर्नरहरूले सङ्क्रमणको दर कम हुँदै गएका सङ्केतका माझ अर्थतन्त्र खोल्नेबारे छलफल थालेका छन् ।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले पहिलो पटक मार्च १९ मा राज्यभरि घरमै बस्न आदेश जारी गरेका थिए । वाशिङ्गटन तथा ओरेगन राज्यहरूले त्यही पाइला पच्छ्याए ।
न्यूयोर्कका गभर्नर एन्ड्र्यु कुमोले न्युयोर्कको लकडाउनलाई मे १५ सम्म लम्ब्याएका छन् ।
उनले अहिले संक्रमणको हाफ टाईम भएको बताउदै हतारिन नहुने भन्दै सावधानीको खाँचो भएको औँल्याएका छन्।
तर राष्ट्रपति ट्रम्पले कडा लकडाउनको विरोधमा प्रदर्शन गरेकाहरुको समर्थन गरिरहेका छन् । राष्ट्रपतिले गत शुक्रवार मिनिसोटा, मिचिगन तथा भर्जिनियामा लागू आदेश धेरै कडा भएको प्रतिकृया दिएका थिए ।
वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले राष्ट्रपतिको लक डाउन बिरुद्ध प्रदर्शन गर्ने समुहको समर्थन गर्ने कदमलाई खतरनाक भन्दै त्यसले राज्यका कानूनलाई उल्लंघन गर्न उक्साउने बताएका छन ।
“अमेरिकी राष्ट्रपतिले मानिसहरूलाई कानून उल्लंघन गर्न उक्साएको मैले आफ्नो जीवनकालमा देखेको थिइनँ,” उनले समचार संस्था बि बि सिलाई बताएका थिए ।
समाचार श्रोत : बि बि नेपाली