कोरोना नियन्त्रण र लकडाउन कार्यान्वयनमा खटिएका सुरक्षाकर्मीमा बढ्दो संक्रमण

काठमाडौं । संसारका धेरै मुलुकको तुलनामा नेपालमा लकडाउन कार्यान्वयन प्रभावकारी थियो । खासगरी घरमै मानिसहरु बस्ने बानी बसाल्नु र सडकमा निस्कने मानिसलाई नियन्त्रण गर्नु चानचुने काम थिएन् । यसमा सफलतापूर्वक खटिएका सुरक्षाकर्मीमा क्रमशः कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । खासगरी सामुहिक रुपमा बस्ने र खाने गर्नुपर्ने पेशा भएकाले समेत एक स्थानमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको समयमा समेत त्यसबाट धेरैमा संक्रमण फैलने सम्भावना हुन्छ ।

आमनागरिकसँगै अहिले सुरक्षाकर्मीमा देखिएको संक्रमणले नेपालमा जोखिम डरलाग्दो रहेको संकेत गरेको छ । नेपाल प्रहरीको मुख्यालय प्रहरी प्रधान कार्यालयमा साउन ११ मा चार जनामा कोरोनाको संक्रमण पुष्टी भएको थियो । त्यसपछि कन्ट्रयाक्ट ट्रेसिङ गर्दा मङ्गलबार आएके नतिजामा थप ३१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यसले सुरक्षाकर्मीमा बढी जोखिम रहेको देखिएको छ । जो लकडाउन कार्यान्वयन र विभिन्न प्रयोजनका लागि फिल्डमा खटिएका थिए ।

 

 

मङ्गलबार सशस्त्र प्रहरीमा पनि एकजनामा कोरोना देखिएको छ । प्रहरीमा बुधबारसम्म २०६ जनामा सङ्क्रमण भइसकेको बताइएको छ । यी प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका समेत गरी कूल ३८२ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भइसकेको छ । त्यसमध्ये १४१ जना उपचाररत छन् । सुरक्षाकर्मीमध्ये जटिल बिरामी भने छैनन् । नेपालमा कुल १९ हजार मानिसमा कोरोना देखिएको छ । त्यसमध्ये १४ हजार निको भएका छन् । लकडाउनका बेला करीव ४४ हजार सुरक्षाकर्मी खटिएका थिए ।