कोरोना महामारी सन् २०२२ भर नै रहन सक्ने डब्लूएचओको भनाई

काठमाडौं । खोप वितरणमा धनी र गरिब मुलुकबीचको असमानताका कारण कोरोना भाइरसको महामारी आगामी वर्ष समेत लम्बिन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । विपन्न मुलुकले आफूलाई चाहिने कोभिड खोप नपाइरहेकाले कोभिड महामारी सोचेभन्दा एक वर्ष बढी समय रहन सक्ने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको हो । बीबीसीका अनुसार डब्ल्यूएचओस्थित वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले त्यसको अर्थ कोभिड सङ्कट सन् २०२२ को अन्त्यसम्मै लम्बिने देखिएको बताएका छन् ।

अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले कोभिड खोप पाएको छ । अरू अधिकांश महादेशमा ४० प्रतिशतले खोप पाइसकेका छन्। डा. एल्वर्डले सम्पन्न देशहरूलाई खोपका लागि दिएको अर्डर छोड्न आग्रह गरेका छन् । यसले उत्पादक कम्पनीहरूले कम आय भएका मुलुकलाई प्राथमिकतामा राख्न सक्ने समेत उनको भनाई छ । सम्पन्न देशहरूले ठूला औद्योगिक राष्ट्रहरूको समूह जी ७ लगायतका बैठकमा कोभिड खोप सहयोगबारे आफूहरूले जनाएको प्रतिबद्धताबारे समीक्षा गर्न आवश्यक रहेको उनले औँल्याए।

परोपकारी संस्थाहरूको एउटा गठबन्धन द पिपुल्स च्यारिटिजले कोभिड खोपसम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ। उसको तथ्याङ्क अनुसार उत्पादक कम्पनी र सम्पन्न राष्ट्रहरूले प्रतिबद्धता जनाएका कोभिड खोपका सातमध्ये एउटा मात्रा मात्रै अति गरीब देशहरूमा पुग्न सकेको छ।