न्युयोर्क
न्युयोर्कस्थित म्यानह्याटनको प्रशिद्ध ब्यापारिक भवन जाभेट्स सेन्टर लगायतका अन्य ३ ठुला भवनमा अस्थाई अस्पताल बनाएर कोरोना नियन्त्रण गर्न अमेरिकी सेना म्यानह्याटन आईपुगेको छ । न्युयोर्कस्थित पहिलो अस्थाई अस्पताल निर्माण गर्न १ दशमलब ३ मिलियन स्क्वायर फिटको जाभेट्स सेन्टरमा अमेरिकी सेनाले १००० बेडको सुबिधा सम्पन्न अस्पताल तत्काल बनाउने छ । न्युयोर्कमा चार वटा अस्थाई अस्पताल निर्माण गर्ने र यस्को लागि नेसनल गार्ड खटाउने सहमति गभर्नर एन्ड्रु कुमो र राष्ट्रपति ट्रम्प बीच भएको थियो । गभर्नर र राष्ट्रपति बीच मौखिक सहमति भए लगत्तै राष्ट्रपति ट्रम्पले आईतबार साँझ ह्वाईट् हाऊसमा आयोजित प्रेस ब्रिफिङमा कोरोना नियन्त्रणका लागि सेना परिचालन गर्न लागेको बताएका थिए ।
जाभेट्स सेन्टरमा २ सय ५० बेड संख्याको अस्थाई अस्पातललाई ४ भागमा बिभाजन गरेर अस्पताल निर्माण गर्न संघीय आकस्मिक ब्यबस्थापन एजेन्सी (फिमा) ले सेनासँग मिलेर काम गर्ने छ । संघीय सरकारबाट सुबिधा सम्पन्न उपचार सामाग्री म्यानह्याटन आईपुगे संगै गभर्नर कुमोले भने “यो जीवन र मृत्युको बिषय हो । हामीले यी सुबिधा सम्पन्न सामग्री पाएपछि हामी ज्यान बचाउन सक्छौं” । कुमोले भनेका छन् “अस्पताल निर्माणको काम मंगलवारदेखि सुरु हुनेछ । कुनै कुराले रोकिनु पर्ने छैन” ।
गभर्नर कुमो सोमबार अस्थाई अस्पताल बनाउन लागिएको जाभेट्स सेन्टरको निरिक्षणमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन “बिग एप्पल अहिले पनि आँधी आउनु अगाडिको सन्नाटामा छ” । राम्रो हुनु अगाडि स्थिती अझै धेरै बिग्रिने गभर्नर कुमोको दाबी छ ।
न्युयोर्क राज्य अमेरिका भरिकै सबैभन्दा धेरै कोरोना संक्रमित भएको राज्य भएको छ । अमेरिकामा सोमबारसम्म ४२ हजार संक्रमित गणना गरिएको छ भने ५ सय १२ को मृत्यु भै सकेको छ, जस मध्ये न्यूयोर्कमा झन्डै ६ हजार संक्रमित छन् र १५७ को मृत्यु न्युयोर्कमा भएको छ । न्युयोर्क राज्यका सबै अस्पतालमा गरेर अहिले ५३ हजार बेडहरु छन् । गभर्नर कुमोले यदि भाइरस यही अनुपातमा बढ्ने हो भने त्यो ५३ हजार बाहेक १ लाख १० हजार बिरामी उपचार गर्ने सुबिधा सम्पन्न बेडहरु चाहिने दाबी गरेका छन् ।
तस्बिर: डेली मेल