कोलकाता बन्यो आइपीएल च्याम्पियन

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधी जितेको छ । फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाताले तेस्रो पटक उपाधि जितेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । ११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । कोलकाताको जितमा वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट रहे ।

रहमानउल्लाह गुरबाज ३२ बलमा ५ चौका र २ छक्कासहित ३९, सुनिल नारायण र श्रेय ऐरले ६र६ रन बनाए । हैदराबादका शहबाज अहमद र प्याट कमिन्सले एक–एक विकेट लिए । त्यसअघि चेन्नेइको घरेलु मैदान चेपौकमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबाद १८.३ ओभरमा ११३ रनमा अल आउट भएको थियो ।

हैदराबादका प्याट कमिन्सले १९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाए । एडेन माक्ररम २०, नितेश कुमार रेड्डी १३ र हेनरिक क्लासेनले १६ रन बनाए । कोलकाताका आन्द्रे रसेलले २.३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्क र हर्षित रानाले दुई\दुई विकेट लिए । वैभव आरोरा, सुनिल नारायण र बरुण चक्रवर्तीले एक–एक विकेट लिए ।

लिगमा कोलकाता लिगमा १४ खेलमा ९ मा जित र ३ मा हारसहित २० अंकका साथ शीर्ष स्थानमा थियो । हैदराबाद १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रहेको थियो । कोलकाताले पहिलो क्वालिफायरमा हैदराबादलाई हराउँदै फाइनलमा पुगेको थियो । हैदराबादले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।