को हुन् हेलिकप्टरमा परी ज्यान गुमाउने राष्ट्रपति इब्राहिम रइसी ?

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको निकट रहेका राष्ट्रपति इब्राहिम रइसी कट्टर धार्मिक नेता थिए। सन् २०२१ को चुनावमा उनको जितसँगै इरानका हरेक क्षेत्रमा रूढिवादीहरूको नियन्त्रण बढेको मानिन्छ। सत्तामा आउनुअघि उनी न्यायालयका प्रमुख थिए। उनले हसन रुहानीलाई प्रतिस्थापन गरेका थिए।

उनी सत्तामा आउँदा इरान आर्थिक समस्या र क्षेत्रीय तनावसँगै आणविक हतियारको मामिलामा विश्‍वशक्तिहरूबाट चुनौती खेपिरहेको थियो। उनले आफ्नो कार्यकालमा सरकारविरोधी जनप्रदर्शनको पनि सामना गर्नुपर्‍यो। धार्मिक सत्ताको विरोधमा भएको प्रदर्शनले उनको सत्ता डगमगाउने अवस्था समेत आएको थियो।

साथै गाजामा इजरेल र हमासबीच चलेको युद्धमा इरान खुला रूपमा सामेल हुन पुग्यो। यसअघि उसको भूमिका छायाशक्तिको मानिन्थ्यो। सन् १९८० को राजनीतिक बन्दीहरूलाई सामूहिक रूपमा फाँसी दिइएको घटनामा रइसीको भूमिकालाई लिएर कैयौँ इरानी जनता र मानवअधिकारकर्मीले बारम्बार प्रश्न उठाउने गरेका थिए। रइसी तेहरानको उपअभियोजक नियुक्त हुँदा केवल २५ वर्षका थिए। त्यहाँ उनी मृत्यु समिति भनेर कहलिएको एक गोप्य न्यायाधिकरणको हिस्सा बने। उनी उक्त समितिको चार सदस्यमध्ये एक थिए।

उक्त समितिले पहिल्यै जेल सजाय काटिसकेका राजनीतिक व्यक्तिहरूमाथि पुनः मुद्दा चलायो। त्यसमा खास गरी विपक्षी पार्टीका नेता कार्यकर्तालाई तारो बनाइयो। उक्त न्यायाधिकरणले मृत्युदण्ड दिएकाहरूको सङ्ख्या अज्ञात भए पनि मानवाधिकार सङ्घसङ्गठनहरू महिला र पुरुष गरी लगभग पाँच हजार जनालाई मृत्युदण्ड दिइएको बताउँछन्।

रइसीले भने उक्त घटनामा आफ्नो संलग्नतालाई बारम्बार अस्वीकार गर्ने गरेका थिए। मानवअधिकार विरोधी कतिपय घटनालाई लिएर सन् २०१९ मा ट्रम्प प्रशासनले रइसीमाथि विभिन्न प्रतिबन्ध समेत लगाएको थियो। रइसीको कडा अडानकाबीच अमेरिकासँग आणविक सम्बन्ध पुनर्स्थापना गर्न भएको वार्तालाई कालान्तरमा इरानकै विभिन्न घटनाले छायामा पारे। इस्लामिक गणतन्त्रको संविधानले राष्ट्रपतिको मृत्यु भएको वा स्वास्थ्य अथवा महाभियोगका कारण काम गर्न नसक्ने अवस्थामा सत्ताको नेतृत्व उपराष्ट्रपतिलाई दिने व्यवस्था गरेको छ।

पछिल्लो घटनासँगै सर्वोच्च नेता खामेनेईले उपराष्ट्रपति मोहम्मद मोख्बेरलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेका छन। खामेनेईले उनलाई सभामुख र प्रधान न्यायाधीशसँग मिलेर संयुक्त रूपमा राष्ट्रपतिको कामकाज गर्न भनेका छन्। इरानको संविधानअनुसार राष्ट्रपति पद रिक्त भएको अवस्थामा ५० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गर्नुपर्ने व्यवस्था छ। इरानका सर्वोच्च नेताले त्यसका लागि स्वीकृति दिनुपर्छ।

सरकारी सञ्चारमाध्यमले राष्ट्रपतिको मृत्यु भएको पुष्टि गरिसकेको अवस्थामा इरानमा अब निर्वाचन हुने निश्चित छ। तर अब हुने निर्वाचनमा मतदाताहरूको रुचि कम हुने सम्भावना पनि छ। अघिल्लो चुनावमा रइसीलाई चुनौती दिन सक्ने नेताहरूलाई उम्मेदवार बन्न दिइएको थिएन। कुल मतदाताको ३० प्रतिशत अर्थात् निकै कम मतदान भएको निर्वाचनबाट रइसी राष्ट्रपति चुनिएका थिए। अधिकांश मतदाताले मिलेमतो भइसकेको ठानेर निर्वाचन बहिष्कार गरेका थिए।