काठमाडौं । क्यानडाको माथिल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरी नेपाल भ्रमणका सिलसिलामा आज काठमाडौं उत्रदैछन् ।
उनी नेतृत्वको संसदीय प्रतिनिधमण्डल सोमबार नेपाल भ्रमणमा आउन लागेको संसद सचिवालयले जानकारी दिएको छ ।
उनी बिहान साढे ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।
फ्युरीले सोमबार नै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गर्ने कार्यक्रम तय भएको छ ।
उनी सोमबार नै राष्ट्रिय सभा बैठक अवलोकनमा पुग्नेछन् । त्यसपछि उनी नेपाल–क्यानडा संसदीय मैत्री समूहसँग भेटवार्तामा सहभागी हुनेछन् ।
उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्नेछन् । उनी मंगलबार फिर्ता हुनेछन् ।
पछिल्लो समय नेपालमा उच्चस्तरीय भ्रमणले गति लिएको छ । विभिन्न मुलुकबाट उच्चस्तरीय टोलीले भ्रमण गरिरहेका छन् ।