क्यानडामा सिख नेताको हत्या प्रकरण, तीन भारतीय पक्राउ

काठमाडौं । क्यानडामा सिख नेताको हत्यामा संलग्न रहेको आरोपमा तीन भारतीय पक्राउ परेका छन् । ४५ वर्षिय हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा २२ वर्षीय करण ब्रार, २२ वर्षीय कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंह पक्राउ परेका हुन् । उनीहरु तीनदेखि पाँच वर्ष क्यानडामा रहेको प्रहरीले जनाएको छ ।

सिख पृथकतावादी नेता निज्जरको हत्यामा संलग्न रहेको आरोपमा तीन जना भारतीय नागरिक पक्राउ परेपछि दुई देशबीच ठूलो कूटनीतिक विवाद उत्पन्न भएको बीबीसीले लेखेको छ । निज्जरको अघिल्लो वर्ष जुन १८ तारिखमा क्यानडाको ब्रिटिश कोलम्बियामा रहेको एक सिख मन्दिर बाहिर गोली हानी हत्या भएको थियो ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हत्यामा भारत सरकारको संलग्नता हुनसक्ने आरोप लगाएपछि त्यसबेलादेखि नै कूटनीतिक विवाद बढेको थियो । तर दिल्लीले यो आरोपलाई अस्वीकार गरेको छ । हत्यामा अरु पनि संलग्न हुन सक्ने र थप पक्राउ वा मुद्दा लाग्न सक्ने क्यानडाको प्रहरीले जनाएको छ ।