क्यानडाले तीन वर्ष भित्र १४ लाख आप्रबासी भित्राउने

काठमाडौं । क्यानडाले आगामी तीन वर्ष भित्र १४ लाख आप्रबासीलाई भित्राउने भएको छ । सो मुलुकका आप्रवासन मामिलामन्त्री सन फ्रेजरले आगामी तीन वर्षमा करिब १४ लाख आप्रवासीहरूलाई स्वागत गर्ने योजनाको घोषणा गरेका छन् । उनको घोषणा अनुसार क्यानडाले सन् २०२३ मा स्थायी बसोबासका लागि नयाँ चार लाख ५० हजार आप्रवासी भित्र्याउनेछ। त्यस्तै सन् २०२४ मा चार लाख ८५ हजार र २०२५ सम्ममा पाँच लाख आप्रवासीसम्मलाई त्यस्तो अनुमति दिनेछ। यो भनेको क्यानडा सरकारको प्रारम्भिक लक्ष्यभन्दा करिब १३ प्रतिशतको वृद्धि हो।

त्यसरी क्यानडाले आप्रवासीहरूलाई स्वागत गर्ने नीति लिनुको कारण उक्त देशमा देखिएको कामदारको कमीलाई पूर्ति गर्नु भएको बीबीसीले लेखेको छ । अहिले पनि त्यहाँ हजारौँ जागिर खुले पनि दक्ष जनशक्तिको अभावमा त्यसको पूर्ति हुन सकेको छैन। क्यानडाको घोषणा ब्रिटेन जस्ता देशहरूले अपनाएको कडा आप्रवासी नीति विपरीत हो। अमेरिकामा पनि पछिल्ला निर्णयहरूले आप्रवासी नीति कडा पारिएको देखाएका छन्। कोभिड महामारीका बेलामा खुला भएका पदहरूमा पनि जनशक्ति पूर्ति नभएपछि अहिले क्यानडाले लचिलो नीति लिएको हो।

तर क्यानडाको श्रम बजारको विवरणहरू विरोधाभासपूर्ण छन्। त्यहाँ विभिन्न क्षेत्रमा कुल साढे ९ लाख पदहरू खाली छन् तर १० लाख मानिसहरू बेरोजगार छन्। आवश्यक पर्ने खालको दक्षता र सीप नभएका कारण कतिपय क्षेत्रमा पदपूर्ति हुन सकेको छैन भने केही क्षेत्रमा कामदारहरूले दिगो रूपमा काम गरिरहेका छैनन्। त्यस्तै सरकारले सङ्केत गरे अनुसार धेरै क्यानेडियनहरूले जागिरबाट अवकाश लिइरहेका छन् र उनीहरूले छाडेपछि खाली भएको स्थान रिक्त नै रहेको छ। यो कार्यक्रमले हाल सरकारी सहायतामा निर्भर रहेका शरणार्थीहरूको पुनर्वास पनि बढाउन खोजेको छ।