काठमाडौं । आईसीसी यू–१९ विश्वकप र प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा राम्रो खेलेका खेलाडीलाई समेट्दै नेपाल क्रिकेट संघले आइतबार क्यानाडाविरुद्धको तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला र नेदरल्यान्ड्स र नामिबियासम्मिलित आईसीसी विश्वकप लिग–२ शृंखलाका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
नेपालले क्यानाडासँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फेब्रुअरी ८, १० र १२ मा गरी तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ । त्यसका लागि १५ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाहलाई समावेश गरिएको छ ।
दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकपमा कप्तान देवले ब्याटबाट र आकाशले बलबाट राम्रो प्रभाव देखाएका थिए । विशेष गरी अफगानिस्तानविरुद्धको समूह चरणको खेलमा नेपालले १ विकेटको ऐतिहासिक विजय हात पार्दा मध्यम गतिका बलर आकाशले ५ विकेट लिएका थिए भने देवले अर्धशतक बनाएका थिए ।
दुर्भाग्यवश दक्षिण अफ्रिका जान नपाएका अर्का तीव्र बलर हेमन्तलाई पनि क्यानाडाविरुद्ध खेल्ने नेपाली टोलीमा राखिएको छ । यू–१९ विश्वकप खेल्न जानु केही दिनअघि मात्र बलिङका क्रममा बलले नली खुट्टामा लागेपछि हेमन्त दक्षिण अफ्रिका जान वञ्चित भएका थिए ।
प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका पवन, अनिल, रिजनलाई क्यानाडाविरुद्धको शृंखलाका लागि नेपाली टोलीमा राखिएको छ । प्रधानमन्त्री कपमै ३० विकेट लिँदै उत्कृष्ट बलर र उत्कृष्ट खेलाडीमा चुनिएका सूर्यलाई पनि नेपाली टोलीमा राखिएको छ ।
नेपाली टोलीमा यसअघि पनि पर्दै आएका सूर्यले एकदिवसीय अन्तर्राष्ट्रियमा भने ‘डेब्यु’ गर्न बाँकी नै रहेको छ । पवन, रिजन, सूर्यलाई लिग–२ का लागि पनि राखिएको छ । फेब्रुअरी १५ देखि २४ सम्म हुने लिग–२ मा नेपालले नेदरल्यान्ड्स र नामिबियाविरुद्ध २–२ एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने छ । आठ राष्ट्र सहभागी लिग–२ को २०२४–२७ साइकलमा यो पहिलो शृंखला हो ।
लिग–२ का लागि नेपाली टोलीमा रोहित, आसिफ, कुशल भुर्तेल र मल्ल, आरिफ, पवन, भीम, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल, करण केसी, ललित, सूर्य र रिजनलाई राखिएको छ । अर्जुन, दीपेन्द्र, गुल्सन र करणलाई भने क्यानाडाको शृंखलामा आराम दिइएको छ । लिग–२ का लागि प्रतिश जीसी, देव खनाल, अनिल र विवेक यादवलाई वैकल्पिकमा राखिएको छ ।