काठमाडौं । क्यामरूनमा भएको एक भयानक सडक दुर्घटनामा कम्तिमा ३७ जना मानिसको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार क्यामरुनको मध्यक्षेत्रमा आइतबार उक्त दुर्घटना भएको हो ।
क्यामरूनको रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गर्दै यस घटनाको पुष्टी गरेको छ । समाचार अनुसार एक यात्रुबाहक बस ट्रकसँग ठोक्किएर भयानक दुर्घटना भएको थियो । जहाँ कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।
१९ यात्रु गम्भीर घाइते अवस्थामा अस्पताल लगिएको छ । सोहीकारण हताहतीको संख्या बढ्न सक्ने जनाइएको छ । ट्रकसँग ठोक्किएको बस अनियन्त्रित भई सडकबाट खोचमा खसेको थियो । बसमा सवार धेरैजसो यात्रुको घटना स्थलमै ज्यान गएको थियो । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरी आयुक्त पाउलिनले जानकारी गराएका छन् ।