आइतबार बिहानसम्म सत्ता राजनीतिको सबैभन्दा शक्तिशाली दल क्षणभरमै प्रतिपक्षी बनेको छ । कांग्रेस वर्तमान संसदको सबैभन्दा ठूलो दल हो । तर, गठबन्धन जोगाउन गम्भीर नबन्दा कांग्रेसले आफ्नो शक्तिमात्र गुमाएन, ५ वर्ष ढुक्कसँग चलाउन सक्ने महत्वपूर्ण पदहरु समेत गुमाएको छ । यसमा राष्ट्रपति, सभामुखदेखि प्रदेश सरकारहरु समेत पर्छन् । अब कांग्रेसले ७ वटै प्रदेशमा प्रतिपक्षमा बस्नु पर्ने भएको छ ।
आइतबार बनेको नयाँ गठबन्धनबाट माओवादी र एमालेले भने सोच भन्दा राम्रो लाभ पाउने भएका छन् । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी भने सबैभन्दा धेरै गुमाउनेमा पर्छन् । कांग्रेसले माओवादीलाई प्रधानमन्त्री दिएको भए राष्ट्रपतिसहित उपराष्ट्रपति, सभामुख, उपसभामुखमध्ये केही पद पाउने निश्चित थियो
। सात वटा प्रदेशमध्ये कम्तीमा चार वटामा मुख्यमन्त्री अनि प्रदेश प्रमुखलगायतमा कांग्रेसको दाबी स्वभाविक थियो ।
आज दिउँसो १२ बजेसम्म सत्ता गठबन्धन कायमै रहँदा कांग्रेस धेरै शक्तिशाली र धेरै पदको दाबेदार थियो । तर जब माओवादी अध्यक्ष प्रचण्ड गठबन्धन छाडेर नेकपा एमालेका अध्यक्ष ओलीको निवास बालकोट लागेसँगै कांग्रेसको हातबाट धेरै चिज गुमेको छ । अब कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेशमा मुख्यमन्त्रीलगायतका पद पाउने सम्भावना सकिएको छ ।