काठमाडौं । सुदूरपश्चिमको भूस्वर्गका रुपमा परिचित धार्मिक, पर्यटकीय क्षेत्र खप्तडमा योगगुरु रामदेव आउने भएका छन् । उनको उपस्थितिमा जेठ २३ देखि २५ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको हो ।
धनगढीमा विहीबार भएको सम्मेलनको तयारी बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सो सम्मेलनमा योगगुरु रामदेव, आचार्य बालकृष्ण, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहने जानकारी दिए । आध्यात्मिक सम्मेलनले सुदूरपश्चिम र खप्तडको महत्व अन्तर्राष्ट्रियस्तरमा पुग्ने विश्वास व्यक्त गरे ।
छलफलमा प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, पर्यटन र धार्मिक क्षेत्रका अगुवाहरुले आध्यात्मिक सम्मेलनले खप्तडको परिचय अझ बृहत बनाउने विश्वास गर्दे सम्मेलन सफल बनाउन आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताएका थिए । बाजुराको बुढीनन्दा नगरपालिका प्रमुख जनक बोहराले चौकीदारी गर्न भारत र खाडीमुलुक गएकाहरुलाई यो सम्मेलनले आमाको काखमा र परिवारको साथमा पुगाउने अवस्था सिर्जना गर्ने बताए । उनले सुदूरपश्चिमको नाम नै खप्तड प्रदेश राख्न माग गरे ।
खप्तडसँग जोडिएको डोटीको पूर्बीचौकी गाउँपालिकाका पूर्व अध्यक्ष दीर्घ बोगटीले पनि सम्मेलनको सफलता भनेको संस्कृतिको पहिचानसँगै रोजगारीबाट सम्बृद्धि हो भन्ने विश्वास व्यक्त गरे । ५०० जना विभिन्न क्षेत्रका अगुवाहरुको सहभागिता हुने सो सम्मेलनमा झण्डै तीन करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
२२५ वर्ग किलोमिटरमा फैलिएको खप्तडलाई २०४२ मा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा रहेको खप्तडमा १२ हजार फिट अग्लो खप्तड लेक पनि छ । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन र ५३ वटा थुम्काहरू छन् ।
किम्वदन्तीअनुसार महाभारतका पाण्डवपुत्र भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी त्रिवेणी नदी खापर दह शिव मन्दिर सहस्रिलंग गणेश मन्दिर नागढुंगा केदारढुंगाजस्ता धार्मिकस्थल प्रसिद्ध छन् । सदियौँदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दसहरामा हजारौँ तीर्थयात्री त्यहँ पुग्छन् । खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ । खप्तडमा विभिन्न खालका बन्यजन्तु, फुलहरु र जडीबुटी समेत पाइन्छन् ।