खरीद गरेको थप खोप नआएपछि रोकियो खोप अभियान

Photo Source : Himalkhabar

काठमाडौं । नेपालले भारतको सेरम इन्स्टिच्युटसँग किनेको खोप नआएपछि खोप अभियान नै प्रभावित बनेको छ । सरकारले तत्कालका लागि कोरोना खोप अभियान नै स्थगित गरेको छ । सेरम इन्स्टिच्युटलाई अग्रिम भुक्तानी दिएर खरीद गरेको २० लाख डोजमध्ये १० लाख डोज मात्र नेपाल आएको छ । बाँकि १० लाख डोज खोप नआएपछि अभियान स्थगित गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

यसअघि भारतले १० लाख कोरोना खोप अनुदानमा दिएको थियो । त्यससँगै १४ माघबाट खोप अभियान सुरु भएको हो । प्रारम्भमा पहिलो प्राथमिकतामा रहेकालाई खोप दिइएको हो । सरकारले किनेको १० लाख डोज नेपाल आएपछि फागुन २३ देखि ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो । बुधबारसम्म नेपालमा १६ लाख ७३ हजार २२७ जनाले कोरोना खोप लगाएका छन् । पहिलो डोज लगाएकालाई भने वैशाख ७ गतेदेखि दोस्रो डोज दिइने छ ।