सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा गरेका छन् । मूख्यमन्त्रीका रुपमा २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि नियुक्त भएका उनले ३ वर्ष ८ महिना सरकार चलाए । यसबीचमा उनले एक पटक विश्वासको मतको समेत सामना गरेका थिए । जसमा उनी सफल भए । तत्कालिन एमालेका सांसदले फ्लोर क्रस गरेपछि उनको सत्ता जोगिएको थियो । ती सांसद अहिले नेकपा एकीकृत समाजवादीमा छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति बमोजिम उनले मुख्यमन्त्री पदबाट राजीनामा गरेका हुन् । गठबन्धनको सहमती अनुसार अब मुख्यमन्त्री पद नेपाली कांग्रेसले पाएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही यो पदका लागि आकंक्षी हुन् ।
राजिनामा दिनु अगाडी मूख्यमन्त्री शाहीले सोमबार कर्णालीबासीका नाममा सम्बोधन गरे । जसमा उनले आजसम्म भएका कामको विवरण प्रस्तुत गरेका छन् । उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न आफूले राजीनामा दिएको बताएका छन् ।
दलहरुबीच भएको सहमति अनुसार नयाँ सरकारका गठनका लागि मार्गप्रशस्त गरेर इमानको राजनीति गरेको समेत उनको भनाई छ । अनुभवका हिसावले आफु किशोर भए पनि कामका हिसावले युवा भएर काम गरेको उनको दावि छ ।