काठमाडौं । विश्वमा धनी मुलुकले आफ्ना नागरिकलाई धमाधम खोप लगाइरहेका छन् । तर, गरिब मुलुकले खरीद गर्छु भन्दा पनि खोप पाएका छैनने । विश्वव्यापी साझेदारी कार्यक्रम मार्फत कोभिड १९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो सङ्ख्याका गरिब देशहरूसँग आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने गरी पर्याप्त मात्रामा खोप नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।
बीबीसीका अनुसार डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रम मार्फत ९ करोड खोप १ सय ३१ वटा देशमा वितरण भएको जानकारी दिए । तर, यो निकै सानो अंश हो । उनले विश्वभर फैलिरहेको भाइरसबाट मानिसहरूलाई संरक्षण गर्न यो अपर्याप्त भएको उल्लेख गरे ।
अफ्रिकी मुलुकमा खोप नपुगेकै कारण सङ्क्रमणको तेस्रो लहर देखा परेको डब्लूएचओको भनाई छ । सोमवार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले धनी देशहरूले खोपलाई जम्मा गरेर राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका थिए। महादेश स्तर अनुसार हालसम्म अफ्रिकामा ४ करोड मानिसहरूलाई मात्र खोप दिइएको । यो त्यहाँको जनसङ्ख्याको दुई प्रतिशतभन्दा कम हो ।
अघिल्लो वर्ष धनी देशहरूले गरिब देशहरूलाई खोपको मूल्यमा छुट सुनिश्चित गर्ने सहितको प्रतिबद्धता जनाएका थिए । सोही अनुसार विश्वभर खोपको पहुँच पुर्याउन कोभ्याक्स अभियान थालिएको हो । डब्ल्यूएचओको नेतृत्वमा अरू सङ्गठनहरू पनि सहभागी रहेको उक्त अभियानले सन् २०२१ भित्र दुई अर्ब मात्रा खोप उपलब्ध गराउने लक्ष्य लिए पनि ठूला मुलुकले सहयोग नगर्दा यो अभियान सफल हुनेमा शंका छ । कोभ्याक्समा ८० न्यून आय भएका देश आबद्ध छन् ।
धनी राष्ट्रहरू सम्मिलित जी सेभेनको सम्मेलनमा बाइडनले अमेरिकाले ५० करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए । उक्त समूहका देशहरूले कुल १ अर्ब खोपको मात्रा दिने घोषणा गरेका छन् । तर, यो घोषणामा मात्र सिमित हुने आंशका छ ।