काठमाडौं । बुधवार आंशिक रूपमा खुला गरिएको गाजाको इजिप्टसँगको सिमानास्थित रफाह नाकाबाट विहीवार पनि विदेशी राहदानीवाहक र घाइते प्यालेस्टिनीहरू बाहिरिएका छन्। बिहीवार एउटा पूर्व स्वीकृति प्राप्त सूचीमा नाम रहेका झण्डै ४०० जना जतिलाई सिमा पार गरेर इजिप्ट जान अनुमित दिइएको हो। बीबीसीका रुश्दी अबु अलुफले जनाए अनुसार बिहीवार नाका पार गर्न अनुमति पाउनेहरूको नाम इजिप्टले नाकामा राख्ने गर्दछ। बुधवार सोही सङ्ख्यामा मानिसहरूले सिमा पार गरेका बताइएको छ।
गाजा सीमाका अधिकारीहरूले नाका सञ्चालनमा नै रहने जनाएका छन्। कूटनीतिक समाचार स्रोतहरूले सङ्केत गरे अनुसार दुई हप्ताको समयमा साढे सात हजार विदेशी राहदानीवाहकहरूले गाजा छाड्न सक्नेछन्। इजरेली हमला जारी रहँदा गाजामा अस्पतालहरूमा अत्यावश्यक सामग्रीहरूको अभाव तीव्र बन्दै गएको अवस्थाले जरुरी स्वास्थ्य सेवा चाहिने मानिसहरू गाजाबाट बाहिरिने हतारोमा छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले हप्तौँदेखि द्वन्द्वको चपेटामा परेर फसिरहेका गैर सैनिकहरूलाई पहिलोपल्ट गाजाबाट बाहिरिने व्यवस्था गरेको कूटनीतिक प्रयासको प्रशंसा गरेका छन्। त्यस्तो व्यवस्थाका लागि भएका वार्ताहरूका लागि उनले विशेष गरी कतारलाई धन्यवाद दिएका छन्। अमेरिकी राष्ट्रपतिले बन्धकहरूको रिहाइका लागि इजरेल र हमासबीचको लडाइँमा ुविरामु का लागि पनि आह्वान गरेका छन्। मिनेसोटा राज्यमा प्रचार भेलामा उपस्थित एकजना महिला श्रोताले युद्ध विरामको आह्वान गर्न उनलाई भनेपछि अमेरिकी राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिएका थिए।
उनले भने, मलाई लाग्छ त्यहाँ विरामको आवश्यकता छ। लडाइँमा विरामको अर्थ बन्दीहरूलाई बाहिर निकाल्नका लागि समय मिल्नु हो। त्यसको केही समयपछि ह्वाइट हाउसले राष्ट्रपतिको टिप्पणीलाई प्रष्ट पार्ने प्रयास गर्दै उनले मानवीय उद्धार सहायता र हमासले बन्धक बनाएर राखेका २४० जनाको सन्दर्भमा बोलेका जनाएको थियो।
इजरेली सेनाले उस्का सैन्यहरू गाजा स्ट्रिपमा अझ अगाडि बढेका बताएको छ। आइडीएफका प्रवक्ता ड्यानिअल हागारीले स्थल, जल र हवाई संयुक्त सैन्यले गाजा स्ट्रिपमा हमासको अग्रपङ्क्ति पार गरेको बताएका छन्। प्यालेस्टिनी रेड क्रेसन्टले रातभर अल कुद्स अस्पतालसहित गाजा सिटीमा ठूलो विस्फोट र तोप हमलाको आवाज सुनिएको बताएको छ। उक्त परोपकारी संस्थाले उक्त अस्पतालको झ्यालबाट रेकर्ड गरिएको भिडिओ सामाजिक सञ्जालमा राखेको छ जसमा विस्फोटका आवाज सुनिनुका साथै चम्किला आगोका लप्काहरू देख्न सकिन्छ।
गाजामा हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले भनेको छ इजरेलको बम हमला आरम्भ भएयता त्यहाँ आठ हजार सातसय भन्दा बढीको ज्यान गइसकेको छ।
संयुक्त राष्ट्र सङ्घको मानवअधिकार कार्यालयले जबालिया शरणार्थी शिविरमा इजरेलले गरेको हवाई हमलाहरू युद्ध अपराध हुनसक्ने जनाएको छ। उसका अनुसार त्यहाँ भएको गैर सैनिक हताहत हुनेको ठूलो सङ्ख्या र क्षतिको ठूलो स्तरले ती आक्रमणहरू असमानुपातिक रूपमा चर्को भएकोबारे गम्भीर चिन्ताहरू उत्पन्न गराएको छ। गाजास्थित हमासको सञ्चार कार्यालयले मङ्गलवार र बुधवार भएका ती हमलाहरूमा एक सय पञ्चानब्बे जनाको ज्यान गएको र एक सय २० जनाभन्दा बढी अझै हराइरहेका बताएको छ। इजरेलले ती हमलाहरूको बचाउ गरेको छ।