काठमाडौं । रफाहस्थित एउटा शरणार्थी शिविरमा आइतवार भएको विस्फोटनमा दर्जनौँ मानिस हताहत भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले रफाहमा हमासले प्रयोग गरेको एउटा ठाउँलाई निसाना बनाउँदै हमला गरिएको जनाएको छ।
आईडीएफले उक्त घटनाको समीक्षा भइरहेको जनाएको छ। त्यसअघि हमासले रफाहबाट तेल अभिभतर्फ आठवटा रकेट प्रहार गरेको थियो। ज्यानुअरी महिनायता हमासले उक्त इजरेली सहरमा गरेको पहिलो लामो दूरीको आक्रमण हो।
दक्षिणी गाजा स्ट्रिपबाट प्राप्त भिडिओमा ठूलो विस्फोटन भएको र आगो लागेको देखिन्छ। हमासले रफाहको पश्चिमोत्तर भागमा भएका विस्थापित प्यालेस्टिनीहरूको शिविरमाथि हवाई हमला गरिएको जनाएको छ। उक्त क्षेत्र हालै सैन्य कारबाही भएका ठाउँभन्दा पर सुरक्षित क्षेत्र तोकिएको ठाउँमा पर्ने हमासको भनाइ छ। मृत्यु हुनेमा महिला र बालबालिका रहेको हमासले जनाएको छ।
आईडीएफले उक्त क्षेत्रमा हमासका लडाकुलाई निसाना बनाइएको र त्यसका लागि निश्चित ठाउँमा प्रहार गरिएको जनाएको छ। आईडीएफले पश्चिमोत्तर रफाहमा गरिएको आक्रमणमाू हमासका दुई वरिष्ठ नेता मारिएको आईडीएफएको दाबी छ। हमासको स्वास्थ्य मन्त्रालयले एउटा इजरेली आक्रमणमा ३५ जनाको मृत्यु भएको र अरू दर्जनौँ मानिस घाइते भएको जनाएको छ।
मृतकको सङ्ख्या बढ्ने सम्भावना भएको विवरणहरू आएका छन्। इजरेली हवाई हमलाका कारण लागेको आगोले सर्वसाधारणलाई हानि पुगेको विवरणबारे आफू अवगत रहेको आईडीएफले जनाएको छ। उक्त घटनाबारे समीक्षा भइरहेको उसको दाबी छ। शुक्रवार इन्टर्न्याश्नल कोर्ट अफ जस्टिस (आईसीजे)ले इजरेललाई रफाहमा आक्रमण रोक्न भनेको भए पनि इजरेलले सैन्य कारबाही जारी राखेको छ।
त्यसअघि आइतवार मध्यइजरेलमा रफाहनजिकैबाट हमासले रकेट गर्दा तेल अभिभनजिकै रहेका क्षेत्रमा चेतावनी दिन साइरन बजाइएको थियो। हमासले प्रहार गरेका रकेटहरूलाई या त हवाई प्रतिरक्षा प्रणालीले निस्तेज पारिदिएका थिए वा ती खुला ठाउँमा खसेका थिए। हमासले गरेको रकेट हमलाका कारण इजरेलपट्टि कोही हताहत भएका विवरण नआएको भए पनि इजरेलवासीहरूमा अझै हमासबाट खतरामा रहेको देखिन्छ।
अहिले इजरेली सेना हमासलाई सखाप पार्न भन्दै दक्षिणी गाजातर्फ अघि बढिरहेको छ। उक्त क्षेत्र हमासको पकडमा रहेको अन्तिम ठाउँ भएको उसको दाबी छ। तर हमासले तेल अभिभतिर गरेको रकेट आक्रमणले इजरेली सेनाले कस्ता चुनौती खेप्नुपर्छ भन्ने सङ्केत गर्छ।
बीबीसी