गाजामा इजरायली सेनाको अन्धाधुन्ध आक्रमण, कम्तिमा ९० जना मारिए

काठमाडौं । इजरायली सेनाले गाजाको एक मानवीय क्षेत्रमा अन्धाधुन्ध हवाई आक्रमण गरेको छ । घटनामा कम्तीमा ९० जना मारिएको खबर छ । तीन सय जनाभन्दा धेरै घाइते भएका प्यालेष्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हमासका अनुसार इजरायली सेनाले युद्धक्षेत्रबाट विस्थापित भई बसेका मानिसको बसोबास रहेको क्षेत्रमा आक्रमण गरेको हो । त्यस क्षेत्रलाई यसअघि इजरायली सेनाले नै सुरक्षित क्षेत्र तोकेर प्यालेस्ष्टिनीलाई शरण लिन आग्रह गरेको थियो ।

इजरायली सञ्चारमाध्ययमले सेनाले हमासका वरिष्ठ नेता मोहम्मद डेफलाई लक्षित गरी आक्रमण गरेको दावि गरेका छन् । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहूले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण गरिरहेको छ । गाजामा अहिलेसम्म ३८ हजार चार सय ४३ जनाको ज्यान गएको र ८८ हजार चार सय ८१ जना घाइते भएका हमासले जनाएको छ ।