काठमाडौं । गाजामा युद्धविरामका लागि कतारमा भइरहेको वार्ता विफल भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्। इजरायल र हमासबीच जारी लडाइँ रोक्न मध्यस्थता गरिएको भए पनि दुई पक्षबीच ठूलो मतभिन्नता रहेको बीबीसीले लेखेको छ । संयुक्त राज्य अमेरिकाले हमासलाई अव्यावहारिक मागहरू राखेको आरोप लगाएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गाजा युद्धविरामका लागि एउटा प्रस्ताव अघि सारेका थिए। उक्त प्रस्तावमा जारी युद्धविरामको पहिलो चरण एप्रिल महिनाको बीचसम्म लम्ब्याउने उल्लेख छ।
यसअघि ट्रम्पले अमेरिका गाजा स्ट्रिप आफ्नो अधीनमा लिन र त्यहाँ बसोबास गरिरहेका प्यालेस्टिनीहरूलाई अन्य क्षेत्रमा स्थायी पुनर्वास गराउन इच्छुक रहेको बताएका थिए। इजरायलले दोस्रो चरणमा गाजाबाट आफ्नो फौज फिर्ता गर्ने यसअघिको सम्झौता कार्यान्वयन गर्न विलम्ब गरेको छ। उसले गाजामा जाने सहायता र विद्युत् आपूर्ति पनि काटिदिएको छ।
हमास लडाकु समूहले बन्धक बनाएका मानिसहरूलाई यथाशीघ्र मुक्त गरिनुपर्ने इजरायलको अडान छ। हमासको नियन्त्रणमा रहेकामध्ये अझै २४ जना जीवित रहेको ठानिएको छ। उक्त लडाकु समूहले बन्धक बनाएका अन्य ३५ जना मारिएको ठानिएको छ। जीवित रहेकामध्ये र इजरायली दोहोरो नागरिकता भएका २१ वर्षे सैनिक एडन एलेक्जेन्डर पनि रहेको बताइएको छ। हमासको नियन्त्रणमै रहेका अन्य चार अमेरिकी नागरिकको मृत्यु भइसकेको विवरण आएका छन्।
सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणका क्रममा इजरायलमा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थी विपिन जोशीलाई पनि हमासले नियन्त्रणमा लिएको ठानिएको छ। यद्यपि उनको अवस्था अज्ञात छ। पहिलो चरणको युद्धविरामका क्रममा रिहाइ गर्नेहरूको सूचीमा जोशीको नाम समावेश नभएपछि नेपाली अधिकारीहरूले दोस्रो चरणको युद्धविराममा उनलाई रिहा गराउने पहल भइरहेको बताउँदै आएका थिए। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टसँग जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका थिए।