नेपाली कांग्रेसकी नेता सुजाता कोइराला पराजित भएकी छिन् । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता यो पटक मोरङ क्षेत्र नम्बर २ बाट उम्मेदवार थिइन् । यो गिरिजा प्रसाद कोइराला निर्वाचित भइरहने क्षेत्र हो । तर, सुजाता भने एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग पराजित भइन् । संविधानसभा सदस्य तथा एमाले मोरङ अध्यक्ष पोखरेल ३३ हजार १४८ मत ल्याउँदै विजयी भए । कोइरालाले ३१ हजार ९४० मत ल्याएकी छिन् ।
यसअघि कोइराला सुनसरी क्षेत्र नम्बर ५ (हाल ४) बाट पराजित भएकी थिइन् । उनी पराजित भएको दुवै क्षेत्रबाट गिरिजाप्रसाद कोइरालाले पटक पटक निर्वाचन जितेका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी सुनसरी ५ बाट उम्मेदवार बनेकी थिइन् । तर पराजित भइन् । सुनसरी क्षेत्र नम्बर ५ बाट गिरिजाप्रसाद कोइराला २०५१ र २०५६ मा निर्वाचित भएका थिए । यो पटक पनि बुबाकै क्षेत्र मोरङ २ बाट उम्मेदवार बनेकी थिइन् । गिरिजाप्रसादले २०४८, ०५१ र ०५६ मा मोरङ–१ बाट चुनाव जितेका थिए, उक्त क्षेत्र हाल मोरङ–२ मा पर्छ ।