गुठी विधेयक खारेज गर् – नेवाः गुठी न्यूयोर्क

न्यूयोर्क/अमेरिका
न्यूयोर्कमा बसोबास गर्दै आएको नेवारी समुदायको संस्था ‘नेवाः गुठी न्यूयोर्क’ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले सरकारले संसदमा दर्ता गरेको गुठी विधेयक खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् । गत शनिबार ज्याक्सन हाइटको ड्राइभरसिटी प्लाजामा नेवारी समुदाय, आदीवासी जनजाती लगायत सम्पूर्ण नेपालीको सहभागितामा बिभिन्न प्लेकार्ड र ब्यानर लिएर सरकार बिरुद्ध नारावबाजी गरिएको थियो । गुठी सम्पदा र उपत्यकाको संस्कृति मास्न खोजेको भन्दै सहभागीहरुले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा समेत माग गरेका थिए ।
सरकारले गत बैशाख १६ गते संसदमा दर्ता गरेको गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक पेश गरेको थियो । उक्त विधेयक जस्ताको तस्तै पारित भएमा गुठीको कुल जग्गामध्ये ६५ प्रतिशत सम्म भूमाफिया वा अन्य व्यक्तिका नाममा जाने भन्दै यसको चर्को बिरोध भइरहेको छ ।
प्रस्तावित गुठीसम्बन्धी विधेयकमा निजी गुठीलाई समेत सार्वजनिक गुठी बनाउन पाइने व्यवस्था गर्न लागिएको थियो । जसअनुसार देशभरिका करिब पाँच हजार निजी गुठीको जग्गा गुठियारले मोहीयानी हक लगाएर आफ्नो नाममा बनाउने बाटो खुल्ने थियो । गुठी विधेयक संसदमा पेश भएपछि यसको चौतर्फी बिरोध गर्दै सर्बसाधारण आन्दोलनमा उत्रिएका थिए । चौतर्फी विरोध पछि एक साता अघि नै सरकारले विधेयक फिर्ता लिएको छ ।
‘तर, फिर्ता लिएर मात्रै हुँदैन, खारेजै गर्नुपर्छ’ नेवाः गुठी न्यूयोर्कका उपाध्यक्ष बिजयमान सिंहले भने, ‘नेवारी समुदायको धर्म, संस्कृति र परम्परालाई मास्न खोज्ने गरी विधयेक ल्याइएकोले खारेज नै गराउनुपर्ने दवाव दिनकै लागि प्रदर्शन गरेका हौं ।’
गुठीको जग्गा पहाडमा ५ लाख ६१ हजार ९९० रोपनी र तराईमा ६६ हजार ३३० विघा छ । गुठी संस्थानका अनुसार देशभरि रहेका गुठीका जग्गा मध्ये रैतान नम्बरी जग्गा पहाडमा ३ लाख १५ हजार ४७२ रोपनी र मधेसमा ६२ हजार २५६ विघा छ । त्यस्तै गुठी अधीनस्थ जग्गा पहाडमा २ लाख ४३ हजार ६०७ रोपनी र तराईमा २१ सय ९६ विघा छ । गुठी तैनाथी जग्गा भने २९ सय ११ रोपनी पहाडमा र १८ सय ७८ विघा तराईमा छ ।