गुल्मी । गुल्मीमा पहिरोमा परि एकै परिवारका तीन दिदीबहिनीको ज्यान गएको छ । मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर ८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको थियो ।
तिलक परियारको घरमा ६ जना थिए । ३ जना छोरीको मृत्यु भएको र तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जानकारी गराएको छ । स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव बिहान साढे ४ बजे निकाली गुल्मी अस्पताल तम्घास पठाइएको छ । राति नै उद्धार टोली घटनास्थलमा खटिएको थियो ।