काठमाडौं । नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक जनाको पनि मृत्यु भएन । यो सुखद समाचार यस्तो समयमा आएको छ, जहाँ कोरोना विरुद्धको खोप अभियान शुरु भएको दुई दिन मात्र भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो ६ महिनायता पहिलो पटक सुखदः दिन आएको हो ।
नेपालमा २०७७ जेठ १ मा कोरोना भाइरसको संक्रमण पुष्टी भएका बिरामीका पहिलो मृत्यु भएको थियो । सिन्धुपाल्चोककी एक सुत्केरीको कोरोनाकै कारण ज्यान गएको थियो । त्यसपछिको एक महिना बित्दा नबित्दै नेपालमा कोरोना उत्कर्षमा पुग्यो र मृत्युदरले पनि गति लियो ।
साउनको अन्तिम सातापछि भने हरेक दिन औसतः दैनिक १० जना हाराहारीको ज्यान गएको छ । नेपालमा अहिलेसम्म २ हजार २० जनाको कोरोनाबाट ज्यान गएको छ । तर, पछिल्लो २४ घण्टाले भने त्यो सिलसिला तोकेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो पटक १९ साउनमा नेपालमा मृत्यू संख्या शून्य रहेको थियो । त्यसपछि आज यस्तो सुखद दिन रहन सफल भयो ।
कात्तिक १९ मा नेपालमा एकै दिन सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाएका थिए । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको दर संक्रमितको तुलनामा ०.७५ प्रतिशत छ । यो अन्य मुलुकहरुको तुलनामा कम हो । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा नेपालमा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा २९६ जनाले कोरोना जितेका छन् ।