काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको सांसद पद गएको छ । नेकपा माओवादी केन्द्रबाट सांसद बनेका उनलाई पार्टीले कारवाही गरेसँगै सांसद पद गुमेको हो । सांसद पद गुमेपनि उनी आजै गृहमन्त्री पदमा भने पुनःनियुक्त भएका हुन् । अब उनी नेकपा एमालेका नेताको हैसियतमा गृहमन्त्री बनेका छन् । गृहमन्त्रीमा नियुक्त भएका उनले अब सांसद बीना बढीमा ६ महिना मात्र मन्त्री पदमा बस्न पाउने छन् ।
आइतबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई मन्त्री पदको सपथ ग्रहण गराएकी छन् । आजै उनले कार्यभार समेत सम्हालेका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै एमाले बनेसँगै माओवादी केन्द्रले कारबाही गरेको हो । उनी राष्ट्रिय सभा सांसद थिए ।