गृहमन्त्री बालकृष्ण खाँड पराजित

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँड प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। गृहजिल्ला रुपन्देही ३ बाट उम्मेदवार बनेका कांग्रेस नेता खाँडलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले पराजित गरेका हुन्। बोहराले ३६,७१७ मत पाएर निर्वाचित भए ।सुरुवाती मतगणनाबाटै झिनो मतअन्तरले प्रतिस्पर्धा गरिरहेका खाँड २६८१ मतले पछि परे। उनले ३४,०३६ मत पाए। पूर्वमन्त्री समेत रहेका बोहरा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट तत्कालिन एमालेका उपमहासचिव घनश्याम भुसालसँग पराजित भएका थिए।

अघिल्लो निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेका खाँड यो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए। विसं २०४८ सालमा पहिलो पटक सांसद बनेका खाँड २०६४ र २०७० को संविधानसभा निर्वाचनमा रुपन्देही ३ बाटै निर्वाचित भएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्रको रूपमा चिनिएका खाँड यसअघि रक्षा र सिंचाइमन्त्री तथा शिक्षा तथा खेलकुद राज्यमन्त्री भइसकेका छन्। बोहरा पनि पञ्चायतकाल देखि प्रजातन्त्रकालसम्म पटक पटक मन्त्री र सांसद भइसकेका छन् ।