गैरआवासीय नेपाली संघद्धारा ५६० अक्सिजन सिलिण्डर सरकारलाई हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण भएको छ ।

मध्यपूर्वमा रहेका नेपालीहरु एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका रु ७५ लाख भन्दा बढीको अक्सिजन सिलिण्डर आइतबार संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे ।

ओमानदेखि काठमाडौंसम्म ल्याइएको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले बेहोरेको छ । सिलिण्डर हस्तान्तरण गर्दै अध्यक्ष पन्तले यी सिलिण्डर आवश्यकताका आधारमा सबै प्रदेशमा वितरण गर्न अनुरोध गरे । नेपालका विभिन्न स्थानहरुमा वितरण गर्न दाताहरुको अनुरोध सहितको पत्र समेत मन्त्री त्रिपाठीलाई हस्तान्तरण गरिएको थियो ।

अध्यक्ष पन्तले कोभिड – १९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको र संक्रमणका कारण मानवीय क्षति पनि बढ्दो रहेको भन्दै विदेशमा रहेका नेपालीहरुले यस संकटको घडीमा मानवीय सहायताको लागि हात अघि बढाएको बताए ।

संघले विदेशस्थित राजदूतावास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेको उनको भनाई छ ।


संघका संस्थपक अध्यक्ष डा महतोले आफ्नो मुलुकमा आपत परेको बेलामा जहिले पनि गैरआवासीय नेपालीहरुले सहयोग गरेको र भविष्यमा पनि गरिरहने उल्लेख गरे ।