अमृता के सी ( रोनी )
काठमाडौँ, जेष्ठ १२ ।गोकर्णेश्वर नगरपालिकाले अक्सिजन र मेडिकल सेवा सहित २५ बेडको आइसोलेशन सेन्टर सुरु गरेको छ । नगरपालिकाको वडा नम्बर ४ जगडोल स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामती स्मारकमा रहेको भवनमा आज एक कार्यक्रम बिच नगरप्रमुख सन्तोष चालिसेले आइसोलेशन केन्द्रको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल,नगर प्रमुख सल्लाहकार दिपक रिसाल,नगर स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय सहित जनप्रतिनिधि, राष्ट्रिय शहिद तथा शान्ति पार्क,निजामती स्मारक यज्ञडोल (जगडोल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ,पूर्व डिस्ट्रिक गभर्नर एवं हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल,पूर्व डिस्ट्रिक गभर्नर एवं हालका मल्टिपल हंगर रिलिफ चिफ लायन कुमार राज सुवेदी लगायतको उपस्थिति थियो ।
आइसोलेशनमा गोकर्ण प्राथमिक अस्पतालका डाक्टर तथा नर्सहरुले उपचार गर्नेछन् ।गोकर्ण प्राथमिक अस्पताल स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर ४ का प्रमुख अध्यक्ष श्रीकुमार श्रेष्ठका अनुसार उक्त आइसोलेशनमा १ जना डाक्टर, ३ जना नर्स र ३ जना अहेवको टिम २४ सै घण्टा रहने बताए ।आइसोलेशन केन्द्रमा एम्बुलेसन पनि २४ सै घण्टा रहनेछ । आइसोलेशनको सुरक्षाको लागि नेपाल प्रहरी र नगर प्रहरी खटाइएको छ।
कोभिड -१९ को पहिलो लहरमा पनि करिव ६० दिन सम्म उक्त ठाउँमा लायन्स क्लब ३२५ ए १ ले आइसोलेशन संचालन गरेको थियो।
नगर प्रमुख चालिसेको नेतृत्वमा बिपत व्यवस्थापन अन्तर्गत हालको यस असहज परिस्थितिमा राष्ट्रिय शहिद तथा शान्ति पार्क, गोकर्णेश्वर नगरपालिका, र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ को साझेदारीमा आइसोलेशन केन्द्र पुनःसंचालन गरिएको हो।नगरले बैशाख महिना भित्र सेन्टर संचालन ल्याउने जानकारी गराएको थियो। दोस्रो लहरको भेरियन्टमा संक्रमितहरुको अवस्था निकै गम्भीर भएकोले अक्सिजन र स्वास्थ्य सामाग्रीका साथै चिकित्सकहरुको अभावले ढिला भए पनि राम्रो व्यवस्थाका साथ निम्न आय स्तर भएका कोरोना संक्रमितलाई उपचार गर्न आइसोलेशन प्रभावकारी हुने नगर प्रमुख चालिसेले बताए।आइसोलेशनमा सुरक्षाका मापदण्ड अनुसार खटिएका चिकित्सक टोलिलाई १५ दिन खटाइने छ र ७ दिन क्वारेन्टिनमा राखिने छ ।क्वारेन्टिन पश्चात काेभिड टेस्ट गरि नेगेटिभ देखाइसके पछि मात्रै चिकित्सक टोलिलाई पुनः आइसाेलेशन सेन्टरमा खटाइने छ ।

