गोकुलम केरलाले जित्यो आइ-लीगको उपाधि, साम्बा बनिन् सर्वाधिक गोलकर्ता

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा सम्मिलित गोकुलम केरलाले भारतीय महिला फुटबल लिगको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनल भिडन्तमा किकस्टार्टलाई ५–० गोलले पराजित गर्दै गोकुलम लगातार तेस्रो सिजन महिला लिग च्याम्पियन बनेको हो।

गोलकुलको जितमा साम्बाले खेलको पाँचौ मिनेटमा पहिलो गोल गरिन्। सन्धियाले २२ र ५२ मिनेटमा गरी दुई गोल गरिन्। त्यसअघि इन्दुमतिले ३७ मिनेटमा पेनाल्टीमा अर्को गोल गरेकी थिइन्। ८० मिनेटमा रोजा देवीले गोल गरेपछि गोकुलम उपाधितर्फ अघि बढेको थियो। साम्बाले प्रतियोगिताभरमा २९ गोल गर्न सफल भइन्। उनले भारतको महिला लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाइन्।

यो सिजन साम्बाले पाँच ह्याट्रिक समेत गरिन्। उनी तीन खेलमा प्लेयर अफ दि म्याच समेत भइन्। फाइनलमा पुगेको अर्को टिम किकस्टार्टबाट नेपालका सरु लिम्बु र रेनुका नगरकोटीले खेलेका थिए। यो सिजनको लिगमा साम्बा, सरु, रेनुकासँगै नेपालबाट अनिता बस्नेत (लर्ड्स), एन्जिला तुम्बापो सुब्बा (सेथु) र रेखा पौडेल (स्पोर्ट्स ओडिसा) गरी ६ महिला फुटबलरले खेल्ने मौका पाए। गोलकिपर एन्जिलाले लिगमा सर्वाधिक ६ क्लिनसिट राखिन् भने सरु लिम्बुले सात गोल गर्न सफल भइन्।