गोरखा, २२ फागुन । प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कविन्द्र बुर्लाकोटीले अग्रता बढाउँदै गएका छन् । पछिल्लो मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेसँगको मतान्तर उनले एक हजार १५९ पुर्याएका छन् ।
अहिलेसम्म दुई हजार ८०२ मतगणना हुँदा रास्वपाका उम्मेदवार बुर्लाकोटीले एक हजार ५७१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार न्यौपानेले ४१२ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दुवाडीले ३६१ र नेकपा एमालेका उम्मेदवार मिलन गुरुङले १५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासले जानकारी दिए । मतगणना जारी छ ।
प्रतिनिधिसभा गोरखा क्षेत्र नं १ अन्तर्गत पर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न १४ वटा मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याउन अझै बाँकी रहेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत आज मतपेटिका ढुवानी गरिएको भए पनि मौसममा आएको खराबीका कारण मतपेटिका ल्याउन ढिलाइ भएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
“चुमनुब्री गाउँपालिकाका २३ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने अवस्था थियो”, उनले भने, “आज नौवटा केन्द्रको मतपेटिका ढुवानी गरिएको छ भने १४ वटा मतदान केन्द्रको मतपेटिका मौसम खराबीका कारण ढुवानी गर्न सकिएन ।”
मतपेटिका ढुवानीका लागि आज दोस्रोपटक सदरमुकामबाट उडेको सेनाको हेलिकप्टरले खाङसार र साम्दोको मतपेटिका सङ्कलन गरेर फर्कने क्रममा एक्कासी मौसम बिग्रिएपछि पोखरामा आकस्मिक अवतरण गर्नुपरेको थियो । सहायक प्रजिअ शर्माले हेलिकप्टर तयारी अवस्थामा रहेको शनिबार बिहान मौसम खुल्नेबित्तिकै बाँकी रहेका केन्द्रको मतपेटिका पनि ढुवानी गरेर सदरमुकाम ल्याइने बताए ।