गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान

काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार बनाउन टेण्डर आह्वान भएको छ । भरतपुर महानगरपालिकाले बिहीबार टेण्डर आह्वान गरेको मेयर रेणु दाहालले जानकारी दिएकी छिन् । ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको छ ।

रंगशालालाई महानगरले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । थप १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिनाभित्र काम गरिसक्ने गरी टेण्डर आह्वान गरिएको छ । रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३–३ तलाको टावर बनाइने छ ।

एउटामा भीआईपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन् । गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बाँकी रकम भरतपुर महानगरपालिकाले खर्च गर्ने छ ।