काठमाडौं । ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा महालक्ष्मी नगरपालिका ५ का ३२ वर्षीय शिव राज कुँवर, काठमाडौं तार्केश्वर नगरपालिका ५ कुमालटार बस्ने ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तु शिवराज नगरपालिका १ का ३२ वर्षीय प्रकाश बेलाबासे र पर्वत फलेवास नगरपालिका १ शंखपोखरी का ४२ वर्षीय दिल बहादुर थापा रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार थप अनुसन्धानको क्रममा ग्रिस तथा दुवईबाट ह्वाटस् एपमार्फत पीडित परिवारहरूलाई सम्पर्क गरी नेपाली २१ लाख ७५ हजार रुपैयाँ फिरौती रकम नेपालमा लिने कुँवरलाई गौरिघाटबाट भदौ २ गते, फिरौती लिएको रकम कुँवरसँग लिन सम्पर्क भएका अर्याललाई काठमाडौं तार्केश्वरबाट भदौ ३ गते, दुवईबाट नेपालमा कुँवरलाई फिरौती रकम लिन लगाउने तथा अर्याललाई रकम दिनु भन्ने बेलबासेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ६ गते र दुबईमा बेलबासेलाई रकम नेपालको अर्याललाई दिनु भनि सम्पर्क नम्बर दिने थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ६ गते पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।