काठमाडौं । स्टल्याण्डस्थित ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलनमा नेपालको मुस्ताङ र सोलुखुम्बुको चर्चाले विश्वको ध्यान तानेको छ । नेपालको सरकारी संचारमाध्यम गोरखापत्रका अनुसार आयोजक राष्ट्र बेलायतको तर्फबाट अध्यक्षता ग्रहण गरेका बेलायतका मन्त्री आलोक शर्माले जलवायु परिवर्तनको असरले विश्व जगत नै आक्रान्त भएको भन्दै नेपालको मुस्ताङको जोमसोममा खडेरी पर्दा त्यहाँको जनजीवन, कृषि उत्पादन, पशुपालन, जैविक विविधतामा असर परिरहेको प्रसङ्ग उल्लेख गरेका छन् ।
शर्माले जलवायु परिवर्तनको असरले नेपालको उच्च हिमाली अर्थतन्त्र जोखिममा परेको बताएपछि अन्य महादेशका जलवायु परिवर्तन विज्ञ, अध्येता, प्राध्यापक तथा सम्मेलनमा सहभागी सबैको ध्यान तानेको हो । उनले आफैं मुस्ताङको जोमसोममा गएर देखेको अनि त्यहाँको जनजीवनले भोगेका पीडा आफ्नो मगजमा बसेको बताएका छन् ।
ग्लास्गोमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हालै नेपालमा भएको अप्रत्याशित बाढी, पहिरो र डुवानको घटनाले विश्वका सबै राष्ट्रलाई सचेत गराएको बताइन् । स्कटल्याण्डको ग्लास्गोमा आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनका अवसरमा बीबीसीसँग कुराकानी गर्दै राजदूत पोलिटले विश्वभरिका नेता जम्मा हुने यो सम्मेलनमा नेपालमा भएका पछिल्लो प्राकृतिक विपतको घटनाबारे गम्भीर छलफल र बहस हुने बताइन् ।
उनले आफूले सोलुखुम्बुको भ्रमण गर्दा हिमाली क्षेत्रका बासिन्दाका जनजीवनमा निकै प्रभाव परेको जानकारी गराएकी छिन् । नेपालमा पानीका मूल सुक्ने, अति वर्षा हुँदा बाढी डुबानको समस्या हुने देखिएको छ । पाँच वर्षको दौरानमा नेपाललाई ३५ करोड पाउण्ड सहयोग गरेको बताउँदै राजदूत पोलिटले नेपाललाई आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरिन् ।
नेपालले आउने १० वर्षमा जोखिम न्यूनीकरण र अनुकूलनका कार्यक्रम सञ्चालन गर्न कम्तीमा ४९ अर्ब डलर चाहिने अनुमान गरिएको अवस्थामा बेलायतले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता उनको छ ।