काठमाडौं । धनगढीमा किशोरीमाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्कुलबाट फर्किरहेकी किशोरीलाई चक्कु देखाएर एक १८ वर्षीय किशोरले बलात्कार गरेका हुन् । घट्ना बिहीबार साँझको भए पनि प्रहरीमा शनिबार राति साढे ८ बजेमात्र जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।
धनगढीको एक विद्यालयमा अध्ययन गर्दै आएकी किशोरीलाई बाटो छेकेर युवकले चक्कु देखाई आफूसँग जबर्जस्ती गरेको उनको उजुरी छ । युवकले डरत्रासमा पारेर आफूलाई घरमा लगी करणी गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी छिन् । अभियुक्त पत्ता लागिसकेको प्रहरी नायब उपरीक्षक बोहराले बताएका छन् । उनका अनुसार पक्राउ गर्न प्रहरी परिचालित गरिएको छ ।