चर्चित गायिका मेलिना राई र गायक केशव दाहालको “चौतारीमा बसौन पियारी” गीत सार्वजनिक

धन लामा, कनेक्टिकट

अमेरिका निवासी गायक तथा संगीतकार केशव शर्मा दाहाल र हालका चर्चित गायिका मेलिना राईको स्वरमा “चौतारीमा बसौन पियारी” बोलको गीत डिसेम्वर २५ को दिन आफ्नै युट्युब च्यानल (Keshab S. Dahal Official) बाट सार्वजनिक गरिएको छ । यो सुन्दर गीतको सर्जक राजु बाबु श्रेष्ठ हुनुहुन्छ भने, हालका चर्चित संगीतकार राजन राज सिवाकोटीले सर्जकको शब्दलाई जीवन्तता प्रदान गर्नु भएको छ । शब्द, संगीत र स्वरको धेरै राम्रो त्रिवेणी सिर्जना भएको छ । सत्यम, शिवम, सुन्दरम भन्ने जस्तै अर्ग्यानिक शब्द, संगीत र स्वरको यो संगमलाई गाउँले परिवेशको प्राकृतिक छायाँकन, निरन्जन प्रधान र एलिशा राईको अर्ग्यानिक नृत्यले सुनमा सुगन्ध थपेको छ ।

अहिलेको नयाँ पुस्तामा एक छत्र राज गर्नुभएकी गायिका मेलिना राईसँग केशव शर्मा दाहालले गाउनुभएको यो नयाँ गीत “चौतारिमा बसौंन पियारी” आम श्रोताहरुको मनको चौतारिमा कत्तिको बस्छ त्यो भने हेर्न बाँकी छ । यस भिडियोलाई सन थापाले निर्देशन गर्नुभएको हो । केशव संगीतको समेत असल विद्यार्थी भएको कारणले होला स्वरमा निखरता र मिठासको अनुभूति गर्न सकिन्छ ।

नेपालको पूर्व ताप्लेजुङ्गमा जन्मेर, हाल अमेरिकामा बसोबास गर्नुभएका केशवको आफ्नै शब्द, संगीत र हाल युवा पिडींको अत्यन्त लोकप्रिय गायक राजेश पायल राईको स्वरमा अत्यन्त मार्मिक गीत बजारमा आउँने तयारीमा रहेको समेत गायक दाहालले बताउनुभयो ।

विभिन्न स्टेज कार्यक्रमहरुमा मनोरञ्जन प्रदान गर्ने केशवको आधुनिक गायनमा बढी रुची भए ता पनि लोक गीत र प्यारोडी गायनमा समेत उहाँको आवाज जमेको देखिन्छ । उहाँको पहिलो गीत “बैँसमा लाको पिरती” निक्कै चर्चित छ जुन गीत उहाँको पहिलो गीत हो ।