चार महिला फुटबल खेलाडीले पाकिस्तानमा खेल्ने भए व्यवसायिक फुटवल

काठमाडौं । नेपालका चार महिला फुटबल खेलाडीले पाकिस्तानमा व्यवसायिक फुटबल खेल्ने भएका छन् । हालै सम्पन्न राष्ट्रिय महिला लिगमा उत्कष्ट प्रदर्शन गरेका सरु लिम्बु, एन्जिला तुम्बाप्पो सुब्बा, गीता राना र अनिता केसीले पाकिस्तानको ‘राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप’ खेल्ने निश्चित भएको हो । चारै जना खेलाडी नेपालका राष्ट्रिय टीमका सदस्य समेत हुन् ।

एन्जिला गोलकिपर हुन । गीता डिफेण्डर, सरु मिडफिल्डर र अनिता फरवार्ड हुन् । राष्ट्रिय महिला लिगमा चारै जना खेलाडी एपीएफबाट खेलेका थिए । टोली राष्ट्रिय लिगमा अपराजित रहेको थियो भने उपाधी समेत उचाल्न सफल भयो ।

नेपाली खेलाडीले मासा युनाईटेड फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्ने निश्चित भएको हो । खेल पाकिस्तान फुटबल फेडेरेशनले आयोजना गरेको हो । नेपाली खेलाडी बिहीबार दुबई हुँदै पाकिस्तान जाने भएका छन् । प्रतियोगिता मार्च ८ बाट शुरु भई अप्रिल ३ सम्म कराँचीमा संचालन हुने छ ।