चितवनमा चार सवारी साधन एकै ठाउँ ठोक्किए, एक जनाको मृत्यु, लर्जनौं घाइते

काठमाडौं । चितवनको नारायणगढ(मुग्लिन सडक खण्ड अन्तर्गत् भरतपुर महानगरपालिका वडा नं। २९ मा चारवटा सवारी साधन आपसमा ठोक्किएका छन् । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । २३ जना यात्रु घाइते भएका छन् । परिचय खुल्न बाँकी रहेका अन्दाजी १७ वर्षीय एक युवकको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिएका छन् ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । काठमाडौंबाट प्युठान जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट बर्दिवासतर्फ जाँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस आइतबार राति साढे १२ बजेतिर एकैठाउँमा ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बस र ट्रक सुरुमा ठोक्किएपछि अन्य सवारी साधनहरु पनि त्यहीँ ठोक्किएका थिए । दुर्घटनाका घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । दुर्घटनास्थलबाट सबै सवारी साधनहरु हटाएर आज बिहान करिब ५ बजेदेखि सडक दुईतर्फी रुपमा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।