चितवनमा तस्करले मारे दुई वटा गैंडा

file

चितवन । चितवनमा तस्करले दुई वटा गैंडा मारेका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मारेको निकुन्जले जनाएको छ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार एउटा अन्दाजी १४ वर्षको वयस्क पोथी गैंडा र सोही गैंडाको चार वर्षको केटोलाई तस्करहरुले मारेका हुन् ।

स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि निकुञ्ज र सेनालाई खबर गरेका थिए । पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको छ, त्यसैले यो गैंडा तस्करले नै मारेको हुन सक्ने निकुञ्जको भनाइ छ । गैंडा मृत्युबारे अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तिवारीले बताए । चालु आर्थिक वर्षमा निकुञ्जमा चोरी शिकारीबाट गैंडा मारिएको घटना यो पहिलो हो । यस वर्ष यी सहित १० गैंडा मरेका छन् । ९ वटा गैँडा भने अन्य प्राकृतिक कारणले मरेको निकुञ्जको दावी छ ।