चितवन । कोरोना भाइरसको संक्रमण भित्रिहालेमा त्यसको उपचारका लागि काठमाडौं बाहिर अस्थायी अस्पताल निर्माणमा तिब्रता दिइएको छ ।
संक्रमित भइहालेको उनीहरुलाई अलग्गै राखेर उपचार गर्नुपर्ने भएकाले प्रदेश तथा स्थानीय सरकारले तल्लो तहमा ठूलो क्षमताका अस्थायी अस्पताल निर्माणमा तिब्रता दिएका हुन् ।
चितवनस्थित भरतपुर महानगरपालिकाले तीन दिनमा ७०९ सैयाको अस्पताल निर्माण गरेको छ । अब यो अस्पताल आकस्मिक अवस्थामा उपयोगमा ल्याउन सकिने भएको छ ।
यता, बुटबलमा समेत १ सय शैय्याको कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण शुरु भएको छ । अस्पताल शनिबारसम्म निर्माण सम्पन्न हुने भएको हो ।
बुटवल धागो कारखानाको फिनिसिङ ब्लकमा अस्पताल बनाइदैछ । बुटवल उप—महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल उपमहानगरपालिका १० स्थित बन्द अवस्थामा रहेको धागो कारखानाको भवनमा अस्पताल बनाउन लागिएको हो ।
नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय युवा यसको निर्माणमा खटिएका छन् । पहिलो चरणमा एउटा ब्लकमा एक सय बेडको आइसोलेसन कक्ष निर्माण हुने भएको छ ।
उता, प्रदेश १ सरकारले विराटनगरमा एकसाता भित्र कोरोना संक्रमितको उपचारका लागि अस्थायी अस्पताल निर्माण गरी संचालनमा ल्याउने भएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै प्रदेश सरकारले तत्काल ५० शैय्याको अस्थायी अस्पताल निर्माण थालेको हो । विराटनगरमा रहेको नेशनल ट्रेडिङको भवनमा अस्थायी अस्पताल बनाइने भएको छ ।
यस अस्पताललाई अन्य अस्पतालबाट रेफर भएर आएका संक्रमितको उपचार गर्ने गरी तयारी गरिएको हो ।
अस्पताललाई आवश्यक पर्ने सामाग्री भने तत्कालका लागि विराटनगरमा रहेका अस्पतालबाटै जोहो हुने छ प्रदेश १ मा ४४० जना अटाउने क्वारेन्टाइन समेत निर्माण भइसकेको छ ।
प्रदेश सरकारले मोरङको मिक्लाजुङ– ५ मा पर्ने टाँडीमा २००, झापाको भद्रपुरमा ४० र उदयपुरको बेलसोतमा २०० जना अटाउने क्वारेन्टाइनस्थल तयार पारिसकेको छ । अहिले कोरोना विरुद्ध देशभर तिब्रताका साथ काम भइरहेका छन् ।