काठमाडौं । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शुक्रबारबाट नेपालको तीनदिने औपचारिक भ्रमण शुरु गर्ने भएका छन् । उनी परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनको भ्रमणको तयारी पुरा भएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच शनिवार द्विपक्षीय वार्ता हुनेछ । भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ । यो चीनका तर्फबाट पछिल्लो समय हुन लागेको उच्चस्तरीय भ्रमण हो ।